दुहबी । साँघुरो अन्तरको जितका साथ यहाँ सम्पन्न सिमरिया च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि मधेसा युवा क्लब, इनरुवाले जितेको छ ।
फाइनलमा आयोजक संयुक्त युवा क्लब, सिमरियालाई ०–१ को अन्तरले हराउँदै मधेसा च्याम्पियन बनेको हो । मधेसाका लागि युबिन राईले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको मधेसा युवा क्लबले उपाधिसहित नगद ३१ हजार हात पार्यो भने उपविजेता संयुक्त युवा क्लबले २० हजारसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो ।
फाइनल खेलको म्यान अफ दि म्याच मधेसाका मनि मगर चुनिए । उनले त्यसवापत नगद ११०० र ट्रफी हात पारे । त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक संयुक्तका रेम्बो चौधरी चुनिए । उत्कृष्ट डिफेन्डर पनि संयुक्त कै सुशिल यादव बने । उत्कृष्ट मिडफिल्डर संयुक्त कै बिजय उराउ घोषित भए ।
सर्वाधिक गोलकर्ताको पुरस्कार प्रतियोगिताभरि समान ४–४ गोल गरेका मधेसा निबास फ्याल र युबिन राईले हात पारे । उत्कृष्ट प्रशिक्षक पनि मधेसा कै सन्जु चौधरी बने । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २१००–२१०० नगदसहित र ट्रफी हात पारे ।
त्यसैगरी प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने मधेसाका कोमल खवास घोषित भए । उनले त्यसवापत नगद २५०० र ट्रफी प्राप्त गरे । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी दुहबी नगरपालिका, सुनसरीका मेयर वेद नारायण गच्छदार लगायतले पुरस्कृत गरेका थिए ।