News राइजिङ स्टारलाई झापा सुपर कप इजरायलको उपाधि
गोलनेपाल

काठमाडौं । इजरालयमा रहेका प्रवासी नेपालीहरुबीच एकता, आत्मियता र भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ आयोजित प्रथम झापा सुपर कप इजरायल–२०२५ फुटबल प्रतियोगिताको उपाधि राइजिङ स्टार फुटबल क्लबले जितेको छ ।

इजरायलको तेलअविवस्थित फुटबल मैदानमा सम्पन्न फाइनलमा राइजिङ स्टारले लायन तेलअविवलाई टाईब्रेकरमा हराउँदै उपाधि जित्न सफल भएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि टाईब्रेकरमा राइजिङ स्टारले लायन तेलअविवलाई ३–० ले हराउँदै उपाधि चुम्न सफल भयो ।

विजेता बनेको राइजिङ स्टारले उपाधिसहित नगद १०,५०० शेकेल हात पार्यो भने उपविजेता लायन तेलअविवले ५,५०० शेकेलसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । त्यस्तै प्रतियोगिताको फेयर प्ले टिमको उपाधि सेभेन स्टार हाइफा क्लबले प्राप्त गर्यो ।

त्यसैगरी अन्य विधागततर्फ राइजिङ स्टारका भूपेन क्षेत्री उत्कृष्ट गोलरक्षक बन्दा रोजन शेर्पा उत्कृष्ट डिफेन्डर चुनिए । लायन तेलअविवका राजिव राईले सर्वाधिक गोलकर्ताको पुरस्कार हात पार्दा राइजिङका सबिन पन्त उदियमान खेलाडी चुनिए । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने राइजिङ स्टारका जोशन खड्का घोषित भए ।

झापा एफसी इजरायलको आयोजनामा भएको यस प्रतियोगिताको मुख्य प्रायोजक झापाली समाज इजरायल रहेको थियो । प्रतियोगितामा कुल इजरायलमा रहेका नेपालीभाषी समुदायहरुका कुल आठ टोलीहरु सहभागि थिए ।

Post Comments