काठमाडौं । खेलमा नाटकीय पूनःरागमन गर्दै डिफेन्डिङ च्याम्पियन इङल्याण्ड जारी प्रतिष्ठित युइएफए महिला युरो च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
स्वीस शहर जेनेभामा भएको पहिलो सेमिफाइनलमा इङल्याण्डले खेलमा पछि परेको स्थिति उल्टाउँदै इटालीमाथि २–१ को जितका साथ फाइनल प्रवेश गर्न सफल भएको हो ।
खेलको ३३औं मिनटमा बारबरा बोनान्सीको सनसनीपूर्ण गोलबाट खेलमा इटालीले शुरुवाती अग्रता बनाएको थियो । एक समय जितको संघारमा समेत पुगिसकेको इटाली अन्तिम समयमा सम्हालिन सकेन ।
इन्जुरी समयको ९०+६औं मिनटमा इङल्याण्डका लागि मिचेली अगेमाङले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयको पनि अन्तिमतिर ११९औं मिनटमा क्लोए केलीले गोल गर्दै इङल्याण्डको नाटकीय र रोमाञ्चक जित पक्का गरेकी थिईन् ।
अब इङल्याण्डले बुधबार राती हुने दोस्रो सेमिफाइनलतर्फ गत संस्करणको उपविजेता जर्मनी र दावेदार मध्ये एक स्पेनबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ । फाइनल भने २७ जुलाईका दिन स्वीस शहर बासेलमा हुनेछ ।