News खप्तड गोल्डकपका योजनाकार फुटबल अभियन्ता हमालको निधन
गोलनेपाल

धनगढी । मोफसल र नेपाल कै सर्वाधिक धनराशी रहेको खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजनाका योजनाकार तथा युवा फुटबल अभियन्ता सुरेश हमालको निधन भएको छ । हमालको बुधबार उपचारका क्रममा निधन भएको हो ।

कैलाली जिल्ला, भजनी नगरपालिका–५ का स्थायी वासिन्दा सुरेश हमाल केही समय यता मृगौला खराब भएपछि त्यसैको उपचारमा थिए । साथै निकट स्रोतका अनुसार उनी मृगौला प्रत्यारोपणको तयारीमा समेत थिए । यद्यपि बुधबार उनको असामयिक निधन भएको छ ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष समेत रहेका हमालको एक छोरा र एक छोरी पनि छन् । छोरी चिकित्सा अध्ययनका लागि बंगलादेशमा छिन् भने छोरा पनि विदेश मै रहेको निकट परिवारिक स्रोतले जनाएको छ ।

सफल व्यवसायीसँगै कुशल अभिभावक र फुटबल अभियन्ता समेत रहेका हमालको अभाव मोफसलको फुटबलमा निरन्तर खटकी रहने उनलाई नजिकबाट चिन्नेहरुको ठम्याई छ ।

 

Post Comments