News भरतपुरमा शुक्रबारदेखि राष्ट्रिय युवा संघ कप फुटबल हुँदै
गोलनेपाल

चितवन । भरतपुरमा साउन १६ गते शुक्रबारदेखि राष्ट्रिय युवा संघ नेपाल कप फुटबल हुने भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

भरतपुरमा आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे जानकारी दिईएको हो । साउन २३ गतेसम्म हुने प्रतियोगितामा ८ टोली सहभागी हुनेछन् । राष्ट्रिय युवा संघ अन्तर्गत चितवनका ७ पालिकाबाट सात नगर कमिटी टिम र एक जिल्ला कमिटीको टोली सहभागी हुने संयोजक सगार बोम्जनले जानकारी दिए ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह क मा राष्ट्रिय युवा संघ चितवन, कालिका नगर कमिटी, राप्ती नगर कमिटी र रत्ननगर नगर कमिटी रहेका छन् । यस्तै समूह ख मा भरतपुर महानगर कमिटी, इच्छाकामना गाउँ कमिटी, माडी र खैरहनी नगर कमिटी रहेका छन् । उद्घाटन खेलमा शुक्रबार चितवन जिल्ला कमिटी र कालिका नगर कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे भरतपुर ७ कृष्णपुर मैदानमा हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृट खेलाडीले ६ हजार तथा अन्य विभिन्न ४ बिधाले ३-३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीका अध्यक्ष राम कार्कीले जानकारी दिए । प्रतियोगितलाई रनिङ शिल्डको रुपमा आयोजना गर्ने योजना रहेको पनि उनले बताए ।

Post Comments