News सुनसरीमा शुरु भयो फुटबल, पंचायनको विजयी शुरुवात
गोलनेपाल

इनरुवा । फुटबलको उर्बर भूमी सुनसरीमा पनि फुटबलले विस्तारै गति लिंदै गर्दा इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा शुक्रबारदेखि इनरुवा कप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

इनरुवा–२ स्थित शिक्षा अफिस पछाडीको खेलमैदानमा शुरु प्रतियोगिताको उद्घाटन खेलमा पंचायन फुटबल क्लबले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा पंचायनले जनसहयोग युवा क्लबलाई १–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

पंचायनको जितमा खेलको ६१औं मिनटमा अन्जन लिम्बुले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । लिम्बु नै खेलको म्यान अफ द म्याच समेत घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार हात पारे । प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले गरेका थिए ।

प्रतियोगिता अन्तरगत माघ १० गते शनिबारको खेल गोल्डेन स्टार क्लब र रामधुनी क्लबबीच हुने आयोजकले जनाएको छ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ २० गतेका दिन हुनेछ ।

Post Comments