
बसन्तपुर । काठमाडौं–११ शनिबार सम्पन्न दोस्रो माडी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको विजेता बनेको छ । फाइनलमा घरेलु टोली सेन्ट्रल कलेज भरतपुर फुटबल क्लबलाई १–० ले हराउँदै काठमाडौंले उपाधि चुमेको हो ।
चितवनको बसन्तपुर बजार स्थित माडी माविको खेलमैदानमा भएको खेलको नवौं मिनटमा बिकास तामाङले गरेको एक मात्र गोल काठमाडौंलाई उपाधि जिताउन प्रर्याप्त बन्यो ।
उता महिना दिनको अन्तरालमा दोस्रो फाइनल खेलिरहेको भरतपुर भने फेरि उपविजेता मै निराश बनेको छ । स्मरणीय छ, भरतपुरले पुष २५ गतेका दिन रुपन्देहीमा सम्पन्न आठौं फर्साटिकर कपको फाइनलमा फूलबारी गाईजसँग पराजित भएको थियो ।
विजेता बनेको काठमाडौं–११ ले उपाधिसहित नगद २ लाख हात पारेको छ भने उपविजेता भरतपुरले १ लाखमा चित्त बुझाएको छ । बसन्तपुर युनाइटेड क्लब, चितवनको आयोजनामा माघ ३ गतेदेखि शरु प्रतियोगितामा चितवनसहित मकवानपुर, कास्की र काठमाडौंका गरि कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।