काठमाडौं । विश्व कै लोकप्रिय मध्ये एक फुटबल खेललाई विद्यालयस्तरबाटै सबैमाझ पुर्याउने महत्वाकांक्षी उद्देश्यका साथ विश्व फुटबलको सर्वोच्च निकाय फिफाको ‘फुटबल फर स्कुल’ कार्यक्रम बुधबारदेखि नेपालमा शुरु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) सँगको सहकार्यमा फिफाले ल्याएको यो कार्यक्रम नेपालका लागि एउटा फरक अवसर बन्नेमा धेरै आशावाद पनि छन् । खासगरी देशको हरेक क्षेत्रका विद्यालयहरुमा विद्यार्थीहरुको सहजताका लागि फुटबल खेललाई प्राथमिकतामा राखेर यो कार्यक्रम गर्नु उत्तिकै महत्वपूर्ण पनि छ ।
अन्तर्राष्ट्रिय अभियानको रुपमा सञ्चालन हुँदै आएको सो कार्यक्रम नेपाली फुटबलका लागि ठूलो अवसर भएको उद्घाटन कार्यक्रममा उपस्थित नेपालका प्रधानमन्त्री केपी ओलीले बताइसकेका छन् । यो कार्यक्रमले फुटबलमा अनेक सपना देख्ने देशभरिका हजारौं बाल खेलाडीहरु लाभान्वित हुनेछन् । यसले भावी खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास पनि धेरैको छ ।
मुलुक कै लोकप्रिय खेल भए तापनि फुटबल खेलमा धेरैले देखेका सपना र लक्ष्य पूरा नहुँदा नेपाली फुटबल कहिं कतै धर्मराएको आभाष पनि हुन्छ । तर, एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ भने नेपाली फुटबलले ढिलो चाँडो नयाँ उचाईं लिनेमा आशावाद छन् । अध्यक्ष नेम्वाङ भन्छन्, ‘हामीले नेपाली फुटबलका लागि सकेको गर्ने हो । चुनौतिहरु सबैतिर हुन्छन् । त्यसको डटेर सामना गर्दै नेपाली फुटबलको दायरालाई अझै फराकिलो बनाउने लक्ष्य छ । फिफाको फुटबल फर स्कुल जस्ता कार्यक्रमले विस्तारै नेपाली फुटबलले पक्कै पनि कोल्टे फेर्नेमा आशावादी छु ।”
स्मरण रहोस, फिफाले युनेस्कोसँगको सहकार्यमा सञ्चालन गरेको फुटबल फर स्कुल कार्यक्रम नेपालको ७७ वटै जिल्लाहरुमा सञ्चालन हुनेछ । त्यसक्रममा १ हजार ७२ भन्दा बढी विदालयहरुमा ३२, ६४० थान फुटबल वितरण गर्ने एन्फाको तयारी र योजना पनि छ । जुन योजना नेपाली फुटबलमा बाल खेलाडीहरुका लागि एउटा फरक प्रयास बन्ने पनि निश्चित छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान