News भारतीय फुटबलमा नेपाली खेलाडीहरुको ‘खेप’
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल खेलाडीहरु माझ हाल ‘खेप’ शब्द त्यति नौलो नाम रहेन । त्यही खेपका लागि हाल नेपालका सयौं खेलाडीहरु भारतको नर्थ ईष्टमा छन् ।

भारतको स्वतन्त्रता दिवस (१५ अगस्त) को अवसर पारी त्यहाँ वार्षिक रुपमा थुप्रै फुटबल प्रतियोगिताहरु हुने गर्छन् । खासगरी भारतको नथ ईष्टमा हुने प्रतियोगिताहरुमा नेपाली खेलाडीहरुको माग उच्च हुन्छ ।

स्थानीयदेखि अन्तर्राष्ट्रियस्तर कै नेपाली खेलाडीहरु खेपका लागि भारत पुग्छन् । अहिले पनि त्यो क्रम जारी छ । हाल नर्थ इष्टमा जारी विभिन्न फुटबल प्रतियोगिताहरुमा नेपाली खेलाडीहरु खेप मै व्यस्त छन् ।

चल्तीका खेलाडीहरु दिप कार्की, पदम भट्टराई, देवेन्द्र तामाङ जस्ता कयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु अहिले भारत कै स्थानीय फुटबल प्रतियोगिताहरु खेलिरहेका छन् । “सानो ठूलो प्रतियोगिता भए पनि खेपमा खेल्दा यहाँ राम्रो कमाइ हुन्छ । धेरै नेपाली खेलाडीहरु त्यही खेपका लागि अहिले भारत मै छन् ।” राष्ट्रियस्तर मै खेलीसकेका एक खेलाडीले नाम नखुलाउने शर्तमा आफ्नो प्रतिक्रिया दिए ।

त्यसो त भारतमा खेल्न गएका अधिकांश नेपाली खेलाडीहरुको भनाई उस्तै छ । नेपाल मै त्यति प्रतियोगिता नहुने, भए पनि नेपालमा लामो समय खेलेर भन्दा भारतमा केही साता खेपमा खेल्दा राम्रो कमाई हुने धेरै खेलाडीहरु बताउँछन् । खेलेरै परिवार र दैनिकी चलाउने धेरै नेपाली खेलाडीहरुका लागि भारतमा खेपमा खेल्ने एउटा रहर मात्र नभई बाध्यता पनि बनेको छ ।

Post Comments