News डुरान्ड कपमा त्रिभुवन आर्मीको चुनौति समाप्त
गोलनेपाल

काठमाडौं । महत्वपूर्ण मानिएको अन्तिम खेलमा हार बेहोरेपछि त्रिभुवन आर्मी फुटबल क्लबको भारतमा जारी प्रतिष्ठित १३४औं डुरान्ड कपमा चुनौति समाप्त भएको छ ।

समूह सी तर्फको आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मीले मंगलबार इण्डियन आर्मीसँग ०–१ को हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिन पुगेको हो । खेलको २१औं मिनटमा क्रिस्टोफर कामेइले गरेको एक मात्र गोल त्रिभुवन आर्मी विरुद्ध इण्डियन आर्मीको निर्णायक गोल बन्यो ।

खेलमा त्रिभुवन आर्मी भने पहिलो गोल खाए लगतै दबाबमा परेको थियो । विपक्षी खेलाडीलाई फल गरेको भन्दै रेफ्रीले त्रिभुवन आर्मीका अनुभवी गोलरक्षक बिकेश कुथुलाई रातो कार्ड देखाएका थिए । त्यसपछि त्रिभुवन आर्मीले खेलको अन्तिम समयसम्म दश खेलाडीमा खुम्चिएर खेल्नु पर्यो ।

यो हारसँगै तीन खेलबाट १ अंक जोड्दै समूह सी को पुछारमा रहेर त्रिभुवन आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । उता २ खेलबाट ३ अंक जोडेको इण्डियन आर्मी दोस्रो स्थानमा उक्लिएको छ । साथै इण्डियन आर्मीले समूह चरणको आफ्नो अन्तिम खेलमा ११ अगस्तका दिन लदाख एफसीसँग खेल्नेछ । इण्डियन आर्मीको उत्कृष्ट दोस्रो स्थान हासिल गर्ने टोलीका रुपमा नकआउट चरण प्रवेश गर्ने सम्भावना भने कायम छ ।

 

Post Comments