काठमाडौं । भारतमा जारी प्रतिष्ठित डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब फुटबल प्रतियोगिता खेलिरहेका नेपालका फरवार्ड अन्जन बिष्ट सम्मिलित रियल काश्मिर फुटबल क्लबले आफ्नो अन्तिम खेलमा पनि उत्कृष्ट जित हात पारेको छ ।
समूह एफतर्फ आफ्नो पहिलो खेलमा इण्डियन नेभीसँग २–१ ले पराजित भएको काश्भिरले त्यसपछिका लगातार दुई खेलहरुमा जित हात पार्यो । दोस्रो खेलमा ट्राउलाई २–१ ले हराएको काश्भिरले अन्तिम खेलमा आइतबार नेरोकामाथि ३–१ को प्रभावशाली जित निकाल्यो ।
अन्तिम खेलको नतिजासँगै काश्मिरको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना यथावतसँगै बलियो पनि छ । ३ खेलबाट ६ अंक जोडेको काश्मिर तत्कालका लागि समूह एफको शिर्ष स्थानमा छ । २ खेलबाट ४ अंकका साथ इण्डियन नेभी दोस्रो स्थानमा छ ।
समूह चरणको अन्तिम खेलमा नेभीले १२ अगस्त मंगलबारका दिन ट्राउको सामना गर्नेछ । त्यो खेलमा नेभीले जित हात पार्न सके नकआउट चरणमा प्रवेश गर्नेछ । त्यसो भएमा काश्मिरको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना समाप्त हुन पनि सक्छ । त्यसैले अन्जनको टोली काश्मिरलाई नकआउट चरणमा प्रवेश गर्न नेभी र ट्राउ बीचको अन्तिम खेलको नतिजा नै पर्खनु पर्नेछ ।
नेभी र ट्राउ बीचको खेलमा नेभी बराबरीमा रोकिए पनि काश्मिरको नकआउट चरणमा प्रवेश गर्ने पक्का हुनेछ । उता समूह एफमा ३ खेलबाट २ अंक जोडेको नेरोका र दुई खेलबाट १ अंक जोडेको ट्राउ क्रमशः तेस्रो र चौथो स्थानमा छन् । साथै प्रतियोगिताको समूह चरणबाटै बाहिरिएका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल