काठमाडौं (एजेन्सी) । दक्षिण एसियाका दुई टोलीहरु पारो फुटबल क्लब (भुटान) र बसुन्धरा किंग्स फुटबल क्लब (बंगलादेश) प्रतिष्ठित एएफसी च्यालेञ्ज लिगको समूह चरणका लागि छनौट भएका छन् ।
पश्चिम क्षेत्रको प्रारम्भिक छनौट खेलतर्फ पारोले अफगानिस्तानको अबु मुस्लिमलाई हराउँदै समूह चरणका लागि छनौट हुने सफल भएको हो । पारोको जितमा इभान्स असन्तेले एक मात्र निर्णायक गोल गरे ।
त्यस्तै बसुन्धरा किंग्सले सिरियाको अल–करामाहलाई समान १–० को अन्तरले हराउँदै समूह चरणमा आफ्नो स्थान सुरक्षित गर्यो । बसुन्धरा किंग्सका लागि सन्डे इमानुएलले एक मात्र निर्णायक गोल गरे ।
उता प्रारम्भिक छनौटतर्फ नै भिडेका बंगलादेशको अर्को टोली ढाका अबाहानी भने किर्गिस्तानको मुरास युनाइटेडसँग ०–२ ले पराजित हुन पुग्यो । त्यसैगरी माल्दिभ्सको माजियाले कुवेतको अल–अरबीसँग ०–४ को हार बेहोर्यो ।
एएफसी क्लब फुटबल प्रतियोगितामा दक्षिण एसियाका अधिकांश फुटबल क्लबलहरुले सहभागिता जनाईरहेका बेला यसपटक नेपाली क्लबको उपस्थिति भने शुन्य बन्यो । गत सिजन नेपालका लागि लिग च्याम्पियनको हैसियतले चर्च ब्वाईजले सहभागिता जनाए तापनि यसपटक भने नेपालबाट कुनै क्लब सहभागि हुन सकेन ।
गत सिजनको एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणको छनौट खेलतर्फ चर्च ब्वाईजले पारो फुटबल क्लबसँगै हार बेहोरेको थियो ।