News लिग आयोजना गर्न खेलाडी संघको एन्फालाई ज्ञापनपत्र
गोलनेपाल

काठमाडौं । नेपाली फुटबल खेलाडीहरुको हकहितका लागि आवाज उठाउन र आवश्यक पहल गर्न स्थापित नेपाल फुटबल खेलाडी संघले देशको मेरुदण्डका रुपमा रहेको लिग खेलहरु खेलाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको छ ।

खेलाडीका संघको तर्फबाट अध्यक्ष बिक्रम लामा, बिराज महर्जन तथा बिकेश कुथुले एक कार्यक्रमका बीच एन्फा कम्प्लेक्स मै पुगेर एन्फा महासचिव किरन राईलाई ज्ञापनपत्र बुझाएका हुन् । उनीहरले विगत दुई वर्षभन्दा बढी समयदेखि रोकिएको ए डिभिजन लिगसहित बी र सी डिभिजन लिग पनि यथाशिघ्र आयोजना गर्न माग र अनुरोध गरेका छन् ।

खेलाडी संघका अनुसार लिगहरु नहुँदा खेलाडीहरु पलायन हुने, आर्थिक मारमा पर्ने र समग्र नेपाली फुटबलको विकास नै पछाडी धकेलिएको जिकिर गरेका छन् । कुनै देशको फुटबलको प्रमुख आधार नै लिग फुटबल भएकाले त्यस्ता फुटबल गतिविधीहरुलाई आयोजना गर्न नसक्नु दुर्भाग्यपुर्ण रहेको बताएका छन् ।

हेर्नुहोस खेलाडी संघले एन्फाले ज्ञापनपत्र बुझाएपछिको वक्तव्यः

नेपाल फुटबल खेलाडी संघले नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने मागसहित गहिरो चिन्ता व्यक्त गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राइ समक्ष आज ज्ञापन पत्र बुझाएको छ । हामीलाई विश्वास छ कि एन्फाले चाडो भन्दा चाडो सबै श्रेणीका सहभागी क्लबहरुसँग समन्वय गरेर फुटबल लिगको क्यालेन्डर अनुसार काम अघि बढाउनेछ । हामी यो विषयलाई उच्च प्राथमिकता दिन र हाम्रो खेलको भविष्य सुरक्षित गर्न द्रुत कदम चाल्न एन्फा समक्ष पुन: अनुरोध गर्दछौं ।
 
--- विज्ञप्ति ---
 
नेपाली फुटबल सहिद स्मारक ए, बी र सी डिभिजन फुटबलको महत्त्व कति छ भन्नेबारे यहाँहरु जानकार नै हुनुहुन्छ । पछिल्लो पटक ए डिभिजन लिग सम्पन्न भएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि अर्को सिजन सुरुवातबारे अझै पनि अन्यौलता रहेको तथ्य पनि यहाँलाई जानकारी नै छ । यसै विषयमा नेपाली फुटबललाई चलायमान राख्न डिभिजन फुटबलको निरन्तरता दिने मागसहित गहिरो चिन्ता व्यक्त गर्न नेपाल फुटबल खेलाडी संघको तर्फबाट हामी यो ज्ञापन पत्र लेख्दै छौं । निरन्तरको अन्यौलताले खेलाडीहरू र हाम्रो देश भित्रको फुटबल समुदाय दुवैमा गम्भीर र प्रत्यक्ष असर पारेको छ ।
 
लिग फुटबलको अभावले खेलकुदमा आफ्नो जीवन समर्पित गरेका हाम्रा फुटबल खेलाडीहरूलाई अनिश्चित अवस्थामा पुर्याएको छ । हामीजस्तै प्रशिक्षक, रेफ्री र फुटबलकै भर गर्ने अन्य हजारौंको अवस्था पनि यस्तै होला । फुटबलको अभावकै कारण धेरै प्रतिभा जीविकोपार्जनको खोजीमा देश छोड्न बाध्य भएका छन् । यो पलायन केवल व्यक्तिगत प्रतिभाको क्षति मात्र होइन, यसले राष्ट्रिय फुटबललाई दिर्घकालिन हानि पुर्याउँछ । र अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो स्तरमा प्रत्यक्ष प्रभाव पार्दछ ।
 
पछिल्लो पटक राष्ट्रिय टोली छनोट प्रक्रिया गर्न खेलाडीलाई ट्रायलमा बोलाउनुपर्ने स्थितिले यस पक्षलाई अझ उजागर गरेको छ । राष्ट्रिय टोलीको छनोट प्रतिस्पर्धात्मक खेलबाट हुनुपर्नेहो । र लिग फुटबल गर्नुबाहेकको विकल्प हामीसँग छैन ।
 
यसबाहेक, फुटबल गतिविधि नहुँदा खेलाडीहरूले सामना गर्ने आर्थिक कठिनाइले उनीहरूको प्रशिक्षण र फिटनेस कायम राख्ने क्षमतामा बाधा पुर्याइरहेको छ । व्यावसायिक विकासमा सम्झौता भइरहेको छ नै सँगसँगै आउने पिढीलाई पनि नराम्रो सन्देश गएको अनुभव हामीले गरेका छौं ।
 
यी समस्याहरूलाई मध्यनजर राख्दै हामी नेपाल फुटबल खेलाडी संघ फुटबल लिगको घोषणा र आयोजना गर्न तुरुन्तै कदम चाल्न अनुरोध गर्दछौं । लिगलाई पुनर्जीवित गर्नाले खेलाडी मात्र होइन । फुटबलमा जोडिएका सबै पक्षलाई स्थिर बनाउनेछ । फुटबलमा लागेका व्यक्तिहरुलाई आवश्यक पर्ने आर्थिक सुरक्षा प्रदान गर्नेछ ।
 
हामीलाई विश्वास छ कि एन्फाले चाडो भन्दा चाडो सबै श्रेणीका सहभागी क्लबहरुसँग समन्वय गरेर फुटबल लिगको क्यालेन्डर अनुसार काम अघि बढाउनेछ । हामी यो विषयलाई उच्च प्राथमिकता दिन र हाम्रो खेलको भविष्य सुरक्षित गर्न द्रुत कदम चाल्न अनुरोध गर्दछौं ।
 
यो जरुरी अपीलमा तपाईंको समयका लागि धन्यवाद । हामी कामबाट नै सकारात्मक प्रतिक्रिया पाउनेमा आशावादी छौं । 
 
 
Post Comments