काठमाडौं । बिहीबारदेखि शुरु भएको एन्फा महिला लिग छ्नौट प्रतियोगितामा उत्कृष्ट जितका साथ छहारी युथ क्लबले विजयी शुरूवात गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा छहारीले एफसी रियलेलाई ३(० ले हराउँदै विजयी शुरुवात गर्यो । यो जितसँगै समूह ए तर्फ छहारीले आफ्नो खातामा तीन अंक पक्का गर्यो ।
प्रतियोगितामा सहभागी १४ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितातर्फ प्रत्येक समूहका शीर्ष दुई टोलीले राष्ट्रिय महिला लिगमा स्थान पक्का गर्नेछ । त्यस्तै अंकतालिकाको तेस्रो स्थानमा अटाउने दुई टोलीमध्येको विजेताले पनि छनोट हुनेछ ।
प्रतियोगिताको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन खेलका म्याच अफिसियलहरुलाई बल हस्तान्तरण गरी गरेका थिए । उद्घाटन सत्रको अध्यक्षता एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले गरेका थिए ।
उद्घाटन समारोहमा एन्फा उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, केन्द्रीय सदस्यहरू रमेश व्यञ्जनकार, मनिष जोशी, विकास नारायण श्रेष्ठ, सिइओ इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी तथा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका कप्तान सावित्रा भण्डारी र गोलकिपर एन्जिला तुम्बापो सुब्बा लगायतको उपस्थिति रहेको थियो।