News लहान सुब्बाः परदेशको श्रमिकदेखि देशका लागि खेल्ने पूरा भएको सपना
बिक्रम बानियाँ क्षेत्री

काठमाडौं । नेपालमा फुटबलको भविष्यप्रति निराश भएर धेरै युवा खेलाडीहरू रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । त्यस्तै क्रममा ताप्लेजुङका एक प्रतिभाशाली खेलाडी पनि नेपालमा फुटबल खेल्दै गर्दा आर्थिक बाध्यताका कारण परदेशिन जान बाध्य भए ।

अनि उनको गन्तव्य बन्यो मलेसिया । तर विदेश पुगेपछि उनले फुटबलप्रतिको मोह मर्न दिएनन् । बरु विदेशी भूमिबाटै आफूले सँगालेको सपनालाई जिवन्त राख्दै आज उनी देशका लागि खेल्ने सपना पूरा गरे । यहाँ चर्चा लहान सुब्बाको हुँदैछ, जसले परदेशको कर्मसँगै नेपाली यु–२३ राष्ट्रिय फुटबल टिममा आफ्नो नाम पार्न र देशका लागि खेल्न तयार छन् ।

पिता जितेन सुब्बा पतङ्वा र आमा अनिता चोङवाङको कान्छो छोराको रुपमा २०६० साल असार महिनामा ताप्लेजुङमा जन्मिएका हुन् लहानसँग फुटबल खेल्ने हुटहुटी भने सानैबाट थियो । आफ्नै दाजु पनि पूर्व खेलाडी भएपछि लहानलाई फुटबलमा घुलमिल हुन र अगाडी बढ्न थप हौसला मिल्यो ।

लहानका अनुसार दाजुले दिएको सुझाव र हौसला उनका लागि मार्गदर्शक बनेको छ । त्यसैको फलस्वरूप उनले विदेशमै भए पनि फुटबल नछाडेर राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्य पुरा गर्न सके । उनी ताप्लेजुङको पहिलो खेलाडी समेत हुन जो ताप्लेजुङको प्ररिनिधित्व गर्दै राष्ट्रिय टोल स्थान बनाउन सफल भएका छन ।

नेपालमा शुरु, मलेसियामा निरन्तरता

लहान सुब्बाले आफ्नो फुटबल यात्रा नेपालमै प्रारम्भ गरेका थिए । स्थानिय स्तरमा खेलेका प्रतियोगिताहरूमा उनको प्रदर्शन दमदार थियो । खेलप्रति उनको समर्पण देखिन्थ्यो । तर पारिवारिक जिम्मेवारी र जीवन निर्वाहको चापले उनलाई रोजगारीका लागि मलेसिया जान वाध्य बनायो

तर त्यहाँ पुगेर उनले फुटबललाई बिट मार्न सकेनन् । मलेसियामा रहेका नेपालीहरूमध्ये फुटबल प्रेमीहरूको टोलीले बनाएको एन पेनाङ एफसी क्लबबाट उनले पुनः फुटबल खेल्न सुरु गरे । क्लबमा उनले देखाएको निरन्तर अभ्यास र खेल कौशलले उनी फेरी खेलाडी र क्लबहरुमाझ चिनिन थाले ।

त्यो यु–२३ राष्ट्रिय टिमको ‘कल’

लहानले क्लब फुटबल खेलिरहेका बेला अचानक नेपालबाट एउटा खुसीको खबर आयो ‘यु–२३ राष्ट्रिय टिमको लागि ट्रायलमा सहभागी हुन कल ।’ त्यो खबरले लहानको मन हर्षित र उत्साहित बन्यो । धेरै खेलाडीले मलेसिया पुगेपछि फुटबल छाड्ने गर्छन्, तर लहानले फुटबल नछाडेकै कारण त्यहीँबाट राष्ट्रिय टिममा छानिने अवसर पाए ।

परदेशबाट सीधा नेपाल – टिम ट्रायल

कल प्राप्त भएपछि उनी मलेसियाबाट सिधै नेपाल आए र यु–२३ टिमको छनौट ट्रायलमा सहभागि बने । त्यहाँ उनले आफ्नो खेलकौशल, फिटनेस र लगनशीलताबाट प्रशिक्षकहरूको मन जित्न समेत सफल भए । अन्ततः लहान सुब्बा नेपाली यु–२३ राष्ट्रिय फुटबल टिममा छनोट हुन सफल भए ।

विदेशी भूमिबाट राष्ट्रिय टिमसम्मको यात्रा

लहान सुब्बाको यो यात्रा केवल व्यक्तिगत सफलता होइन, देशप्रतिको समर्पण र सपना नमार्ने साहसको प्रतीक पनि हो । जहाँ धेरैले “नेपालमा खेलेर केही हँुदैन” भन्ने सोच लिएर मैदान नै छाडिरहेका छन्, त्यहाँ लहानले विदेशमा रहेर पनि आफ्नो सपना जिवन्त राख्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।

धेरैको प्रेरणा बन्न सक्छन् लहान सुब्बा

लहान सुब्बाले देखाएका संघर्ष र समर्पण आजको युवा पुस्ताका लागि एउटा प्रेरणादायी पाठ हो । उनी जस्ता खेलाडीहरूलाई हाम्रा खेल संस्थाहरूले हौसला, सम्मान र प्रोत्साहन दिनुपर्छ, अनि राज्यले यस्ता उदाहरणीय प्रतिभाको साथ दिनुपर्छ ।

लहानको यो अविष्मरणीय यात्रामा उनी केही सहयात्रीहरुलाई पनि सम्झिन चाहन्छन् । लहानका अनुसार आफूलाई यो उपलब्धी हात पार्न मलेसियाका कम्युनिटी क्लब एन पेनाङ एफसीका अध्यक्ष अंकित थापा मगर, वरिष्ठ सल्लाहकार नेत्र श्रेष्ठ र नेप्लिज फुटबल फेडरेशन मलेसियाका पूर्व अध्यक्ष सन्तोष कार्की धन्यवादका पात्र छन् । आफूलाई यो यात्रामा उनीहरूको सहयोग र निरन्तर हौसलाप्रति सधै आभारी छन् लहान ।

साथै उनी आफ्ना परिवार र साथीभाईहरुको साथलाई पनि यो सफलताको कडी मान्छन् । लहान भन्छन्, “सबैको साथ, सहयोग र हौसलाले यो ठाउँमा आइपुगे । मेरो यो अविष्मरणीय यात्रामा सबै धन्यवादका पात्र छन् । कुनैबेला परदेशिएको म अब देशका लागि परदेशमा खेल्न तयार छु ।”

ताजिकिस्तानमा खेल्दैछ नेपाल

एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगितातर्फ नेपालले यही आउँदो ३ देखि ९ सेप्टेम्बरसम्म ताजिकिस्तानमा खेल्दैछ । समूह के मा रहेको नेपालले आयोजक ताजिकिस्तानसँगै सिरिया र फिलिपिन्ससँग खेल्ने कार्यक्रम छ । जहाँ लहानले पनि देशका लागि अन्तर्राष्ट्रिय मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।

 

Post Comments