म्याङलुङ । तेह्रथुमको म्याङलुङमा लाखेजात्राको अवसरमा आयोजित नेत्र गुरागाइ स्मृती गोल्डकपको उपाधि डिफेन्डिङ च्याम्पियन बलिहाङ ब्वाइज क्लब (बि.बि.सि.) ले हात पारेको छ ।
मंगलबार म्याङलुङ रंगशालामा सम्पन्न फाइनल खेलमा बि.बि.सि.ले कुम्मायक स्पोर्टिङ क्लब पॅाचथरलाई पेनाल्टि सुट आउटमा ३-१ गोल अन्तरसे पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसके पछि नतिजा पेनाल्टि सुट आउट मार्फत निकालिएको थियो ।
लगातार दोस्रो पटक उपाधि जितेको बि.बि.सि. ले २ लाख २२ हजार २२२ सहित ट्रफि प्राप्त गर्यो भने उपविजेता कुम्मायकले १ लाख ११ हजार १११ सहित ट्रफिमा चित्त बुझायो ।
ब्यक्तिगत बिधातर्फ प्रतियोगिताको बेस्ट गोलरक्षक बि.बि.सि.का प्रमिजय गच्छदार, बेस्ट मिडफिल्डर बि.बि.सि.कै उमेश कार्की, सर्वाधिक गोलकर्ता बि.बि.सि.का सन्जिव लिम्बु (दुई गोल) र वेष्ट डिफेनडरमा कुम्मायकका नविन भुजेल घोषित हॅुदै नगद दुइ हजार र ट्रफि प्राप्त गरे ।
प्रत्येक वर्ष कृष्ण जन्म अष्टमी तथा लाखे जात्राको अवसरमा म्याङलुङ स्पोर्टिङ क्लबले आयोजना गर्दै आएको प्रतियोगितामा म्याङलुङ नगरपालिकाको मुख्य आर्थिक सहयोग तथा अन्य विभिन्न संघ संस्था,व्यक्तिहरूको सहयोग रहेको थियो ।