म्याङ्लुङ । लाखे जात्रा तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा तेह्रथुमको म्याङ्लुङ रङ्गशालामा म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमको आयोजनामा जारी नेत्र गुरागाँई स्मृति गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार दुई क्वाटर फाइनल खेल सम्पन्न भएका छन्।
पहिलो क्वार्टरफाइनलमा गतवर्षको विजेता टोली बिबिसी म्याङ्लुङ तेह्रथुमले पाहुना टोली भाउन्ने युथ क्लब बेलबारी मोरङलाई ३-० गोलन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको १० औं मिनेटमा मिलन लिम्बुको शानदारगोलमा अग्रता लिएको बिबिसीले त्यसको एक मिनेट नबित्दै सागर तिवारीले अग्रता दोबर गरेका थिए।
पहिलो हाफ २–० गोलन्तरले अगाडि रहेको बीबीसी म्याङ्लुङ दोस्रो हाफमा पनि सोही अनुरुप खेल प्रस्तुत गरिरहेको थियो। दोस्रो हाफको पहिलो मिनेटमै बीबिसीका दोर्जे तामाङले गोल गर्दै अग्रतालाई तेब्बर गर्न सफल भएका हुन्। त्यसपश्चात भने दुबै टोलीबाट थप गोल हुन नसक्दा ३-० को सहज जितसहित बिबिसी म्याङ्लुङ अन्तिम चारमा प्रवेश गरेको हो। उक्त खेलमा बीबीसीका पदम भट्टराई म्यान अफ द म्याच भएका हुन्।
दोस्रो क्वार्टरफाइनल खेलमा कुम्मायक स्पोर्टिङ क्लब पाँचथरलाई ३-१ गोल अन्तरले पराजित गर्दै चुटान स्पोर्टिङ क्लब तेह्रथुम अन्तिम चारमा प्रवेश गरेको हो। कुम्मायक स्पोर्टिङ पाँचथरले खेल सुरु भएको दोस्रो मिनेटमै सन्तोष लिम्बुको शानदार गोल मार्फत अग्रता लिएको थियो। पहिलो हाफका लागि उक्त गोल नै निर्णायक भएको थियो।
दोस्रो हाफमा भने चुटान स्पोर्टिङले शानदार खेल प्रदर्शन गर्दा १४ औं मिनेटमा प्राप्त गरेको पेनाल्टीलाई युगन राईले गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याएका हुन्। त्यसको एक मिनेट नबित्दै अनिस आरडीले शानदार गोल गर्दा चुटानले कमब्याक अग्रता बनाउन सफल भएको थियो। दोस्रो हाफको २५ औँ मिनेटमा पुनः अनिस आरडिले व्यक्तिगत दोस्रो गोल गर्दा चुटानले ३-१ गोलको कमब्याक जितसहित अन्तिम चारमा प्रवेश गरेको हो।
शुक्रबार प्रतियोगिताको तेस्रो क्वार्टर फाइनलमा कोशी पुलिस विराटनगर रानी र जिरीखिम्ती युथ क्लब तेह्रथुम दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन् भने दिनको ठिक ३ बजे कालिका देवि मुसाङखेल र चुलाचुली क्लब झापा अन्तिम क्वार्टर फाइनल अन्तर्गत प्रतिस्पर्धा गर्नेछन्।