News साफ यु–१७ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा नेपाल
गोलनेपाल

काठमाडौं । यही भदौ ४ गते (अगस्त २० तारीख) बुधबारदेखि भुटानमा शुरु हुन गईरहेको साफ यु–१७ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले बताएका छन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक श्रेष्ठले सो कुरा बताएका हुन् । श्रेष्ठका अनुसार यसपटक पनि गत संस्करणमा खेलेका अधिकांश खेलाडीहरुको बाहुल्य रहेकाले आफूहरु आत्मविश्वासी रहेको बताए । साथै तयारी पनि राम्रो रहेको उनले जानकारी दिए ।

प्रशिक्षक श्रेष्ठ भन्छन्, “अघिल्लो संस्करण खेलेका खेलाडीको बाहुल्य छ । हामीले पोजिसन अनुसार खेलाडीको प्रदर्शनलाई निखारेका छौं । साफ च्याम्पियनसिपको मुख्य उद्धेश्य भनेको खेलाडी विकास पनि हो । यस्ता खालका प्रतियोगिताबाट खेलाडीले सिक्ने मौका पाइरहेका हुन्छन्, एक्सपोजर पाइरहेका हुन्छन् । हामीले राम्रो तयारी गरेका छौं । हाम्रो लक्ष्य भनेको उपाधि जित्नु नै हो । हामीले टेक्निकल र ट्याक्टिकल पक्षमा काम गरेका छौं । ”

प्रशिक्षक श्रेष्ठले अगाडी भनेका छन्, “पहिलो खेल भारतसँग छ । भारत बलियो टोली हो । अघिल्लो वर्ष यु–१६ मा हामी घरेलु भूमिमा पराजित भएका थियौं । बितेको संस्करण गरेका गल्तीहरुलाई हामीले यसपालि सच्याएका छौं । सबै टेक्निकल एरियाहरुमा काम भएको छ । खेलाडीले मौकालाई सदुपयोग गर्ने हो भने हामी भारतलाई हराउँछौं ।”

प्रशिक्षक श्रेष्ठले यसपटक टिम गेममा पनि विशेष दिने बताए । उनी अगाडी थप्छन्, “टिम गेममा हामीले ध्यान दिएका छौं । मैले जित्नै पर्छ भन्ने दबाब लिएको छैन । दबाब लियो भने खेलमा असर पर्छ । खेलाडीहरुले आफूले जाने सिकेका कुराहरुलाई सकेसम्म खेलमा प्रयोग गर्छन् भन्ने पूर्ण आशा लिएको छु । आशा छ हामी सकारात्मक नतिजा ल्याउन सक्छौं ।”

त्यस्तै नेपाली टोलीकी कप्तान भूमिका बुढाथोकीले टिमका सबै खेलाडीहरु जित्नका लागि मोटिभेटेड रहेको बताएका छिन् । भूमिका भन्छिन्, “ड्रेसिङ रुमको माहोल राम्रो छ । टोलीमा जितको भावना छ । सबै आ–आफ्नो ठाउँमा राम्रो छ । सबै जित्नका लागि मोटिभेटेड छन् । नेपाली समर्थकहरुलाई साथ र हौसला दिनुहुन अनुरोध गर्दछौं ।”

स्मरण रहोस, नेपालले प्रतियोगिताको उद्घाटन खेलमै बुधबार बलियो भारतको सामना गर्दैछ । प्रतियोगितामा आयोजक भुटानसहित भारत, नेपाल र बंगलादेश गरी दक्षिण एसियाका चार टोलीहरु सहभागि छन् । प्रतियोगिता डबल राउण्ड रोबिन लिगका आधारमा हुनेछ ।

Post Comments