News बैशाखमा फुटसल लिग, विजेतालाई १० लाख
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पर्यटकीय नगरी पोखरामा नयाँ बर्ष २०७८ को बैशाखको अन्तिमदेखि ए डिभिजन फुटसल लिग आयोजना गर्ने घोषणा गरेको छ । वार्षिक क्यालेण्डरमा परेको कार्यक्रम अनुसार नै फुटसल लिग आयोजना गर्न लागिएको एन्फाले जनाएको छ ।

सातै प्रदेशहरुमा छनौट प्रतियोगिता पनि हुने

एन्फाका अनुसार फाइनल चरणका खेलहरु हुनु अघि सातै प्रदेशमा छनौट प्रतियोगिताहरु हुने छन् । प्रदेश नम्बर १ को छनौट प्रतियोगिता आउँदो चैत्र १ देखि ५ गतेसम्म इटहरीमा हुनेछ । त्यस्तै प्रदेश २ को छनौट खेलहरु चैत्र ८ देखि १२ गतेसम्म हेटौडामा हुनेछ ।

त्यसैगरी लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको छनौट खेलहरु चैत्र १९ देखि २३ गतेसम्म दाङमा हुनेछ । बागमती प्रदेशको छनौट प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ भने गण्डकी प्रदेशको छनौट प्रतियोगिता बैशाख ३ देखि ७ गतेसम्म पोखरामा हुनेछ ।

सातै प्रदेश प्रदेशबाट छनौट भएर आएका कुल १० टोलीहरुबीचको फाइनल चरणको भिडन्त भने पोखरामा बैशाख २५ देखि जेष्ठ १५ गतेसम्म हुनेछन् ।

फुटसल लिगमा सहभागी टोलीहरुको संख्या

एन्फा फुटसल कमिटीका अनुसार फाइनल चरणमा प्रतिस्पर्धा गर्न प्रदेश नम्बर १ र गण्डकी प्रदेशबाट २–२ टोलीहरु सहभागि हुनेछन् । त्यस्तै बागमती प्रदेशबाट चार टोलीहरु उत्रिने छन् भने प्रदेश नम्बर २, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशबाट एक–एक टोलीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा ए, बी र सी डिभिजन क्लब, जिल्ला फुटबल संघका आवद्ध क्लब तथा राष्ट्रिय खेलकुद परिषदमा आवद्ध वा दर्ता भएका क्लबहरुले सहभागिता जनाउन पाउने एन्फाले जनाएको छ ।

लिग विजेतालाई दश लाख

एन्फाका अनुसार फुटसल लिग विजेताले उपाधिसहित नगद दश लाख हात पार्नेछ भने उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेहरुलाई जनही २५–२५ हजार प्रदान गरिने एन्फाले जनाएको छ ।

त्यसैगरी एन्फाले अन्तिम चरणका लागि छनौट हुने टोलीहरुलाई लिगको तयारी खर्चवापत १ लाख उपलब्ध गराउनेछ । साथै सहभागी टोलीहरुको खाना, आवास खर्चहरु सबै एन्फाले बेहोर्ने जनाएको छ ।

Post Comments