News विश्व शान्तिलाई फाइनल पुर्याउन विश्वासको निर्णायक गोल
सुरज राना मगर

पिपरीचापा । विश्व शान्ति युवा क्लब, सालझण्डी रुपन्देहीमा जारी दोस्रो गौतम बुद्ध कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा विश्व शान्तिले सुनगाभा सामुदायिक विकास केन्द्रलाई १–० ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो । कञ्चन गाउँपालिका–५, पिपरीचापा स्थित गौतम बुद्ध खेलमैदानमा भएको खेलमा विश्व शान्तिका लागि विश्वास श्रेष्ठले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

आइतबारको दोस्रो सेमिफाइनलमा निर्णायक गोल गरेका विश्व शान्तिका विश्वास श्रेष्ठ नै म्यान अफ दि म्याच चुनिए । विश्व शान्तिले अब यही भदौ १० गते मंगलबारका दिन हुने फाइनलमा रेन्बो एकेडेमीसँग उपाधिका लागि भिड्नेछ ।

गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन गाउँपालिका–५, पिपरीचापा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६६,६६६ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी दिए ।

 

Post Comments