News कपिलवस्तु–११ यशोदा फुड्स २३औं लिस्नु कपको क्वाटरफाइनलमा
सुरज राना मगर

कोटिहवा । संघर्षपुर्ण जितका साथ कपिलवस्तु–११ रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलमा कपिलवस्तुले झरना स्पोर्टस क्लब, कुञ्जलापुरको चुनौति टाईब्रेकरमा पन्छाउँदै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

तिलोत्तमा नगरपालिका १५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भएको खेलमा शुरुवाती अग्रता भने झरनाले नै लिएको थियो । ४०औं मिनटमा सुरज आले मगरको गोलबाट झरनाले खेलमा अग्रता बनाए तापनि पहिलो हाफ कै अतिरिक्त समयमा बिज्ञान गुरुङले कपिलवस्तुका लागि दर्शनीय गोल गर्दै खेललाई रोमाञ्चक १–१ गोलको बराबरीमा ल्याएका थिए ।

त्यसपश्चातको दोस्रो हाफमा प्रतिस्पर्धात्मक खेल भए पनि गोल हुन नसक्दा खेल सोझै टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा भने कपिलवस्तुले झरनामाथि ४–२ को जित निकाल्दै अन्तिम आठको यात्रा पक्का गर्यो । खेलमा कपिलवस्तुका कमल भट्टराई म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत भदौ १८ गते बुधबार विश्राम दिइएको र कुनै खेल नरहेको आयोजकले जनाएको छ । साथै भदौ १९ गते हुने पहिलो क्वाटरफाइनलमा गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल र वालिङ युनाइटेड फुटबल क्लब, स्याङ्जा भिड्ने खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।

Post Comments