नेपालगञ्ज । बाँके जिल्ला फुटबल संघको आयोजनामा आगामी शनिबारदेखि एन्फा यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा बाँके जिल्लमा रहेका संस्थागत र सामुदायिक विद्यालयहरुको सहभागिता रहनेछ । प्रतियोगिता नेपालगञ्ज रंगशालामा हुनेछ ।
विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित प्रतियोगिता आयोजना गर्न लागेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट हो । विद्यालय स्तरबाटै जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं ।’
प्रतियोगितामा सहभागिताको लागि अध्यक्ष शाहीले बाँके जिल्ला सम्पुर्ण विद्यालयहरुलाई समेत अनुरोध गर्नु भएको छ । आयोजक बाँके जिल्ला फुटबल संघका अनुसार सहभागि हुने विद्यालयको खेलाडीको जन्म मिति २०६८ पौष १७ गते वा सो भन्दा पछि हुन पर्नेछ ।