काठमाडौं । एएफसी यु–२३ एसियन कप छनौट प्रतियोगिता अन्तर्गत नेपाल कै समुह के मा रहेको फिलिपिन्सले महत्वपूर्ण र सनसनीपूर्ण जित हात पारेको छ ।
आफ्नो पहिलो खेलमा सिरियासँग २–१ ले पराजित भएको फिलिपिन्सले शनिबार अबेर राती सम्पन्न खेलमा घरेलु टोली ताजिकिस्तानलाई १–० ले हराएको हो ।
ताजिकिस्तानले भने आफ्नो पहिलो खेलमा नेपाललाई ४–० ले हराए तापनि त्यो नतिजा र प्रदर्शनलाई फिलिपिन्स विरुद्ध दोहोर्याउन सकेन । शनिबार नै भएको अर्को खेलमा सिरियाले नेपाललाई ४–२ ले हराएको थियो ।
समूह के मा अब नेपाल बाहेक अन्य तीनै टोलीहरुको सम्भावना कायम छ । दुई खेलबाट ६ अंक जोडेको सिरिया समूह के को शिर्ष स्थानमा छ । समान ३–३ अंक जोडेका फिलिपिन्स र ताजिकिस्तान भने दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन नेपाल भने पुछारमा छ र समूह चरणबाटै बाहिरिएको छ ।
अब समूह चरणको अन्तिम खेलमा ९ सेप्टेम्बरका दिन नेपालले फिलिपिन्सको सामना गर्नेछ । त्यस्तै सोही दिन सिरिया र ताजिकिस्तान पनि आमने सामने हुनेछन् ।