News सनसनीपूर्ण जितका साथ आयोजक आदर्श फाइनलमा
सुरज राना मगर

सैनामैना । प्रतियोगिताको शुरुवातबाटै आफ्नै स्थानीय खेलाडी उतारेर जुझारु प्रदर्शन गर्दै आएको आयोजक आदर्श युवा क्लब जारी प्रथम आदर्श कप नाईन ए साईड नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको प्रतिस्पर्धात्मक दोस्रो सेमिफाइनलमा आदर्शले दावेदार मानिएको सितल युवा क्लबलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुगेको हो । त्यसअघि निर्धारित समयको रोमाञ्चक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेका थिए ।

सैनामैना–४ लहरेपिपल स्थित आयोजकको खेलमैदानमा भएको खेलको तेस्रो मिनटमै विपक्षी गोलरक्षकको गल्तीको फाईदा उठाउँदै आयोजकका लागि रेशम पुनले पहिलो गोल गरेका थिए ।

तर त्यसको केही मिनट लगतै सितलका लागि बिमल रानाले बक्स नजिकैबाट सटिक गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । पहिलो हाफ कै १४औं मिनटमा बक्स भित्रबाट जितेश गुरुङले गरेको प्रहार गोलमा परिणत हुँदा सितल २–१ ले अगाडी बढ्न पुगेको थियो । लगतै १७औं मिनटमा एरोन थापाले सितलका लागि तेस्रो गोल गरे ।

पहिलो हाफ मै ३–१ ले पछि परे तापनि आयोजकले हार मानेन । २०औं मिनटमा रेशम पुनले नै व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने सम्भावना देखाए । यद्यपि बराबरीमा फर्किन आयोजकले दोस्रो हाफसम्म पर्खनु पर्यो । ६०औं मिनटमा अभिषेक पुनले आदर्शका लागि तेस्रो गोल गर्दा खेल ३–३ को रोमाञ्चक बराबरीमा पुगेको थियो ।

पेनाल्टी शुटआउटमा भने आयोजक आदर्शले नतिजा सनसनीपूर्ण रुपमा आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलको म्यान अफ द म्याच आयोजक आदर्शका दुई गोलकर्ता रेशम पुन घोषित भए । अब आयोजक आदर्शले फाइनलमा उपाधिका लागि सिद्धार्थ फुटबल क्लब, देवदहसँग खेल्नेछ । फाइनल खेल माघ १५ गते बिहीबारका दिन हुनेछ ।

आदर्श युवा क्लब, सैनामैना–४ मुर्गियाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष कोषराज बस्नेतले जानकारी दिए ।

Post Comments