कोटिहवा । अभिषेक चर्च फुटबल क्लब, नवलपुर जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।
आइतबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा अभिषेक चर्चले कपिलवस्तु–११ माथि २–१ को जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्ने अन्तिम टोली बन्न सफल भएको हो ।
तिलोत्तमा नगरपालिका–१५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा अभिषेक चर्चका लागि मनिष तामाङ र युवराज ढकालले गोल गरे । उता पराजित कपिलवस्तुले भने एक आत्मघाती गोल उपहार पाएको थियो ।
खेलमा अभिषेक चर्चका युवराज ढकाल म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २३ गते सोमबार विश्राम दिइएको आयोजकले जनाएको छ । साथै भदौ २४ गते हुने पहिलो सेमिफाइनलमा अञ्चलपुर युवा क्लब, भैरहवा र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल भिड्ने खेल संयोजक अशोक थापाले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा।लि।को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।
