जितपुरसिमरा । दश खेलाडीमा सिमित हुनुका बावजुद यहाँ सम्पन्न नेपोभिट जितपुरसिमरा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको एपिएफ फुटबल क्लबले जितेको छ ।
फाइनलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । सिमरा रंगशालामा भएको खेलमा एपिएफका लागि दुवै गोल रश्मी कुमारी घिसिङले गरीन् । उता आर्मीका लागि भने सन्जु कुमालले एक मात्र गोल फर्काएकी थिईन् ।
त्यस्तै खेलमा एपिएफकी प्रतिक्षा चौधरीले रातो कार्ड खाँदै मैदान छाड्दा टोली दश खेलाडीमा समेत खुम्चिएको थियो । तर, एपिएफले नतिजा भने आफ्नो पक्षमा पार्न सफल भयो ।
सिमरा भेट्रान क्लब, सिमरा, बाराको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको एपिएफले उपाधिसहित नगद ५ लाख हात पार्दा उपविजेता आर्मीले २ लाख ५० हजारमा चित्त बुझायो । त्यस्तै एपिएफकी रश्मी कुमारी घिसिङ प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी घोषित भईन् । उनले त्यसवापत नगद १ लाख र ट्रफी हात पारिन् ।