कोटिहवा । अञ्चलपुर युवा क्लब, अञ्चलपुर रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप नाईन ए साईड राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनलतर्फ सात खेलाडीमा सिमित बनेको अञ्चलपुरले आठ खेलाडीमा खुम्चिएको गोर्खा ब्वाईज स्पोर्टस क्लबलाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
तिलोत्तमा–१५, कोहिटवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा अञ्चलपुरका लागि चन्दन दासले दुई गोल गर्दा थप एक गोल आशिष गुरुङले गरे । उता पराजित गोर्खा ब्वाईजका लागि सन्त बहादुर गुरुङले एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै खेलको अन्तिम समय तनावपुर्ण समेत बनेको थियो । दुवै टोलीका खेलाडीहरु हात हालाहालको स्थितिमा आएपछि रेफ्रीले अञ्चलपुरका आशिष गुरुङ र जितेश गुरुङ तथा गोर्खा ब्वाईजका पुर्ण बहादुर श्रेष्ठलाई रातो कार्ड देखाएका थिए । सोझै रातो कार्ड खाएका अञ्चलपुरका जितेश गुरुङ र आशिष गुरुङले फाइनल खेल गुमाउने खेल संयोजक अशोक थापाले बताए ।
प्रतियोगिता अन्तर्गत असोज १ गते बुधबारको दोस्रो सेमिफाइनल खेल साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर र अभिषेक चर्च फुटबल क्लब, रजहरबीच हुने आयोजक क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा।लि।को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने असोज ३ गतेका दिन हुनेछ ।
