कोटिहवा । सहज जितका साथ साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा फर्साटिकरले अभिषेक चर्च फुटबल क्लब, रजहरलाई ४–१ को अन्तरले हराउँदै लगातार पाँचौंपटक फाइनलमा प्रवेश गरेको हो । तिलोत्तमा–१५ कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा सम्पन्न खेलमा फर्साटिकरका लागि निरज चौधरीले दुई गोल गर्दा थप दुई गोल बिशाल नेपाली र निराजन धामीको नाममा रह्यो । यता पराजित अभिषेक चर्चका लागि एरोन थापाले पेनाल्टीमार्फत एक मात्र गोल फर्काएका थिए ।
खेलमा फर्साटिकर कै नरेन्द्र चौधरी म्यान अफ दि म्याच चुनिए । फर्साटिकरले अब असोज ३ गते शुक्रबार हुने फाइनलमा अञ्चलपुर युवा क्लब, अञ्चलपुरसँग उपाधिका लागि भिड्नेछ ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा।लि।को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ ।