News रुपन्देहीमा ३७औं झरना कप शुरु, बिपी कोइराला स्पोर्टस क्लबको विजयी शुरुवात
गोलनेपाल

कुञ्जलापुर । झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुर, रुपन्देहीको आयोजनामा बुधबारदेखि शुरु ३७औं झरना कप खुला नकआउट फुटबल प्रतियोगितामा बिपी कोइराला स्पोर्टस क्लबले विजयी शुरुवात गरेको छ ।

आयोजक क्लब कै खेलमैदानमा भएको उद्घाटन खेलमा बिपी कोइराला स्पोर्टस क्लबले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

विपी कोइरालाको जितमा एक गोल आशिष गुरुङले गर्दा अर्को गोल नवयुवाका सुदिप मगरले आत्मघाती गोलका रुपमा गर्न पुगेका थिए । त्यस्तै पराजित नवयुवाका लागि भने संगम सोमरेले एक मात्र गोल फर्काएका थिए ।

खेलमा विश्व थापा मगर म्यानअफ दि म्याच चुनिए । यो जितसँगै बिपी कोइराला स्पोर्टस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत असोज २ गते बिहीबारको खेल लुम्बिनी फुटबल एकेडेमी र जनज्योति क्लबबीच हुने आयोजकले जानकारी दियो ।

आउँदो असोज १३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ४१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

 

Post Comments