कुञ्जलापुर । उत्कृष्ट जितका साथ जनज्योति क्लब, डिंगरनगर रुपन्देहीमा जारी ३७औं झरना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ जनज्योतिले लुम्बिनी फुटबल एकेडेमीलाई ४–० को अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । जनज्योतिको जितमा एरोन थापाले ह्याट्रिक गर्दा थप एक गोल अस्मित अर्यालले गरे ।
खेलमा ह्याट्रिक गरेका जनज्योतिका एरोन थापा म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत असोज ३ गते शुक्रबारको प्रिक्वाटरफाइनल खेल नवलपरासी–११ र समपुर्ण युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।
झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जापुर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ४१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल असोज १३ गतेका दिन हुनेछ ।