कोटिहवा । रुपन्देहीको पुरानो र प्रतिष्ठित मध्ये एक यशोदा फुड्स २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा केही खेलाडीहरु प्रतिवन्धसहितको कारवाहीमा परेका छन् ।
तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा भदौ १४ गतेदेखि शुरु भएको लिस्नु कपको २३औं संस्करणतर्फ सेमिफाइनल खेलका क्रममा विवाद भएपछि खेलाडीहरुलाई कारवाही गरिएको आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्लले बताए ।
कारवाहीमा पर्ने खेलाडीहरुमा अञ्चलपुर युवा क्लब, अञ्चलपुरबाट खेलेका दुई खेलाडीद्वय आशिष गुरुङ र जितेश गुरुङ रहेका छन् भने गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलका पुर्ण बहादुर श्रेष्ठ कारवाहीमा परेका हुन् ।
क्लबका अनुसार यी तीन खेलाडीहरुले खेल भावना विपरीत अनुशासनहिन र अभद्र व्यवहार गरेका कारण उनीहरुलाई लिस्नु कपको आगामी तीन संस्करण (तीन वर्ष) मा सहभागि हुन नपाउने गरी कारवाही गरिएको हो ।
स्मरण रहोस, यशोदा फुड्स २३औं लिस्नु कपको पहिलो सेमिफाइनलतर्फ भदौ ३१ गतेका दिन अञ्चलपुर युवा क्लब र गोर्खा ब्वाईज स्पोर्टस क्लबबीचको खेलका क्रममा विवाद उत्पन्न भएको थियो ।
खेलमा अञ्चलपुरले गोर्खा ब्वाईज विरुद्ध ३–१ को अग्रता बनाईरहेका बेला खेलको अन्तिमतिर दुवै टोलीका खेलाडीहरु विवादसँगै हातपातमा उत्रिएका थिए । विवाद लगतै रेफ्री प्रकाश नवागले अञ्चलपुरका जितेश गुरुङ र आशिष गुरुङ तथा गोर्खा ब्वाईजका पुर्ण बहादुर श्रेष्ठलाई रातो कार्ड देखाएका थिए ।
सोही क्रममा अञ्चलपुरका जितेश गुरुङले रेफ्री प्रकाशमाथि पनि हातपात गरेको आयोजकले जनाएको छ । त्यतिबेला विवाद अनियन्त्रित हुँदा आयोजकले समेत हस्तक्षेप गर्नुपरेको थियो । सोही घट्नाबारे आयोजकको असोज १ गते बसेको बैठकले माथि उल्लेखित खेलाडीहरुलाई कारवाही गर्ने निर्णय गरिएको खेल संयोजक पदम बहादुर थापा (अशोक) ले जानकारी दिए ।
यस्तो छ आयोजकको वक्तव्य र विज्ञप्ती (जस्ताको त्यस्तै यहाँ प्रस्तुत गरिएको छ)
“खेलाडीलाई प्रतिबन्ध गर्ने निर्णय गर्नु कुनै पनि व्यवस्थापनका लागि सजिलो हुँदैन । तर, खेल मैदानमा शान्ति, मर्यादा र अनुशासन कायम राख्न कहिलेकाहीँ नचाहँदा नचाहँदै पनि कठोर निर्णय लिनुपर्छ ।
हालैको खेलमा भएको झैझगडा र त्यसमध्ये रेफ्रीलाई समेत हातपात गर्ने घटना अत्यन्तै दुःखदायी मात्र नभई खेलको पवित्रतामाथि ठूलो चोट पुर्याउने कार्य भयो । खेलाडीले जोश र जोशमा सीमा नाघ्दा, दर्शकले देख्ने खेलको सौन्दर्य र भावी पुस्ताले सिक्ने पाठ दुवैलाई हानी पुर्याउँछ ।
नचाहँदा नचाहँदै पनि यस्ता घटनापछि सम्बन्धित खेलाडीलाई प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको छ । यो कदम कसैको सपना चकनाचुर पार्न होइन, बरु खेलको इज्जत, नियमको मर्यादा र सम्पूर्ण खेलकुद समुदायको विश्वास जोगाउन गरिएको हो ।
प्रतिबन्ध पीडादायी छ, तर खेललाई स्वच्छ, अनुशासित र प्रेरणादायी बनाउन यो अन्तिम विकल्प बनेको छ । खेलाडीले गल्तीबाट पाठ सिकेर भविष्यमा अझ जिम्मेवार बन्न सकून् भन्ने नै हाम्रो साँचो चाहना हो ।”
