बुटवल । नेपालीहरुको महान चाड विजयादशमीको अवसर पारी दि फार्मा टिम, बुटवलको आयोजनामा स्वास्थ्य सेवामा आवद्ध रहेकाहरुबीच वार्षिक रुपमा हुँदै आएको फार्मा कप फुटसल प्रतियोगिताको पाँचौं संस्करण भव्यताका साथ सम्पन्न भएको छ ।
मोनालिसा फुटसलमा भएको पुरुषतर्फको फाइनलमा एड्रिनालिन जन्कीजले एनएमएसआरए पोखरालाई टाईब्रेकरमा ३–२ ले हराउँदै उपाधि उचाल्न सफल बन्यो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।
कृष्ण इन्टरनेशनल, बुटवलका प्रोप्राईटर दिपक खनालद्वारा प्रायोजित पुरुषतर्फको विजेता एड्रिनालिन जन्कीजले उपाधिसहित नगद ४० हजार हात पार्यो भने उपविजेता एनएमएसआरए पोखराले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजन भने सिआरएल बुटवल ल्याबोरेटरीका प्रोप्राईटर डा.द्वारिका प्रधानले गरेका थिए ।
त्यस्तै व्यक्तिगत विधातर्फ फाइनल खेलको म्यान अफ दि म्याच एनएमएसआरए पोखराका राहुल यादव चुनिए । उत्कृष्ट गोलरक्षक ह्वाईट कोट एफसीका हिमाल कार्की बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार ह्वाईट कोटकै आकाश मगरले हात पारे । प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने एनएमएसआरए पोखराका प्रकाश सुबेदी घोषित भए ।
महिलातर्फ लुम्बिनी मेडिकल कलेज च्याम्पियन

त्यस्तै फार्मा टिम कै आयोजनामा सम्पन्न महिलातर्फको फुटसल स्पर्धामा लुम्बिनी मेडिकल कलेज विजेता बन्यो । त्यस्तै टिम सी डेविल्स (देवदह मेडिकल कलेज) उपविजेता बन्दा आयोजक दि फार्मा टिमले तेस्रो स्थान हासिल गर्यो ।
महिला स्पर्धातर्फको पुरस्कार राशी भने मेडिबैंक प्रा.लि. बुटवलका प्रोप्राईटर दिपेन्द्र भण्डारीले प्रायोजन गरेको बुटवलमा फार्मास्युटिकल्स कम्पनीमा कार्यरत रिजनल सेल्स म्यानेजर समेत रहेका खेल संयोजक प्रकाश न्यौपानेले जानकारी दिए । साथै खेल संयोजक प्रकाश न्यौपानेले प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यवाद र आभार प्रकट गरे । उनले प्रतियोगिताको आगामी संस्करण अझै भव्य गर्ने योजना रहेको समेत सुनाए ।
समापनको अवसरमा विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई प्रमुख अतिथी वरिष्ठ न्युरोसर्जन डा.केआई सिंह केसी तथा अतिथीहरु बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेल, डा. वरिष्ठ चिकित्सकद्वय द्वारिका प्रधान, डा. साहित भुषाल (एमडि इन्टरनल मेडिसिन), वरिष्ठ कोर्डियोलोजिस्ट डा. अभिशेष शाक्य, डा. आशिष मल्ल (एमडी, एमएस) लगायतले पुरस्कृत गरेका थिए ।
एकदिने प्रतियोगितामा रुपन्देहीसहित कास्की, चितवन, दाङका गरी कुल २० टोलीहरुले सहभागिता जनाएका थिए । त्यस्तै महिलातर्फ भने कुल तीन टोलीहरुले सहभागिता जनाएको प्रचार प्रसार संयोजक तथा बुटवलमा फार्मास्युटिकल्स कम्पनीमा कार्यरत अर्का रिजनल सेल्स म्यानेजर समेत रहेका प्रयोग खालिङ राईले बताए ।