काठमाडौं । कतारको दोहामा जारी प्रथम नाइन स्टार कप फुटबल प्रतियोगिता अन्तर्गत न्यु स्टार फुटबल क्लब, सिएफसी (निलो) र सिएफसी (रातो) सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम तीन टोलीहरु बनेका छन् ।
प्रतियोगिताको चौथो साताको खेलतर्फ दिनको पहिलो खेलमा न्यु स्टारले आयोजक नाइन स्टार फुटबल क्लब (सेतो) लाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो । न्यु स्टारका लागि मन बहादुर तामाङ र सन्जिव श्रेष्ठले गोल गरे भने नाइन स्टारका लागि कप्तान प्रबिन राईले गोल फर्काएका थिए ।
त्यस्तै दिनको दोस्रो खेलमा सिएफसी (निलो) ले नेपाली एफसी, रसलाफनलाई ८–० को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्यो । सिएफसी (निलो) का लागि हिकमन लिम्बुले ह्याट्रिकसहित चार गोल गर्दा उमेश कार्की, केशव बिक, आयुष बुढाथोकी र करन लामाले समान एक–एक गोल गरे । खेलमा सिएफसी (निलो) का हिकमन लिम्बु म्यान अफ दि म्याच बने ।
त्यस्तै अन्तिम क्वाटरफाइनलमा सिएफसी (रातो) ले अलखोर ब्वाईज एफसीलाई १–० को साँघुरो अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पनि सुरक्षित गर्यो । सिएफसी (रातो) को जितमा सागर राईले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच भने अमर थापा घोषित भए । स्मरण रहोस, आयोजक नाइन स्टार (निलो) ले यसअघि नै सेमिफाइनलमा स्थान बनाईसकेको छ ।
नाइन स्टार फुटबल क्लब, दोहा, कतारको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४४ कतारी रियाल हात पार्नेछ भने उपविजेताले २,२२२ कतारी रियाल प्राप्त गर्ने खेल संयोजक प्रविन राईले जानकारी दिए । फाइनल खेल अक्टुबर ३ तारीखका दिन हुनेछ ।