बुटवल । आउँदै गरेको महान चाडी विजयादशमी र दिपावलीको अवसर पारी जी ट्वान्टी फाईभ क्लब, बुटवल–११, देवीनगरको आयोजनामा मंगलबारदेखि जी ट्वान्टी फाईभ बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता शुरु भएको छ ।
एन्फा टेक्निकल सेन्टरको मैदानमा शुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेलहरु सम्पन्न भए । दिनको पहिलो खेलमा बुटवल ११ ले बुटवल ८ माथि ४–० को जित हात पार्यो । बुटवल ११ को जितमा बिजय रायमाझी र यम बहादुर बुचाले समान दुई–दुई गोल गरे । बुटवल ११ कै बिजय रायमाझी म्यान अफ दि म्याच समेत चुनिए ।
दोस्रो खेलमा बुटवल १३ ले बुटवल ७ माथि २–१ को जित दर्ता गर्यो । बुटवल १३ का लागि भरत काउचा र प्रेम गुरुङले गोल गर्दा बुटवल ७ का लागि महेन्द्र कार्कीले एक मात्र गोल फर्काएका थिए । खेलमा बुटवल १३ कै देवराज पुन म्यान अफ दि म्याच चुनिए ।
त्यस्तै दिनको तेस्रो खेलमा बुटवल १० र बुटवल १ बीच हुने भनिए तापनि बुटवल १० को टिम मैदानमा नआएपछि बुटवल १ लाई विजयी घोषित गरिएको खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए । विजयी बनेका तीनै टोलीहरु क्वाटरफाइनलमा समेत प्रवेश गरेका छन् ।
त्यसअघि प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपाने, बुटवल ११ का वार्ड अध्यक्ष रामचन्द्र क्षेत्री, एन्फा एकेडेमी बुटवलका निर्देशक बुद्धी बहादुर गुरु लगायतले संयुक्त रुपमा गरेका थिए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए । फाइनल खेल असोज १० गतेका दिन हुनेछ ।