News रुपन्देहीमा सिद्धार्थ एकेडेमी कप शुरु
सुरज राना मगर

पक्लिहवा । स्थानीय र युवा खेलाडीहरुलाई अवसर दिने उद्देश्यका साथ सिद्धार्थ फुटबल एकेडेमी, भैरहवा, रुपन्देहीको आयोजनामा सोमबारदेखि सिद्धार्थ एकेडेमी कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

सिद्धार्थनगर स्थित पक्लिहवा कृषि क्याम्पसको खेलमैदानमा शुरु भएको उद्घाटन खेलमा न्यु राईज युथ क्लबले विजयी शुरुवात गर्यो । उद्घाटन खेलमा न्यु राईजले आयोजक सिद्धार्थ फुटबल एकेडेमी (बी) लाई ३–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

न्यु राईजको जितमा मनिष पुन मगरले दुई गोल गर्दा अनुप बुढाले थप एक गोल गरे । यो जितसँगै न्यु राईज क्वाटरफाइनलमा समेत प्रवेश गरेको खेल संयोजक प्रिन्स गुरुङले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष छेदीलाल श्रीवास्तव, विशिष्ठ अतिथी सिद्धार्थनगर वार्ड नम्बर २ कै पूर्व वार्ड अध्यक्ष, सामाजिक अभियन्ता कुमार थापा तथा अर्की विशिष्ठ अतिथी दुर्गा मन्दिर आमा समूह, सिद्धार्थनगर–२ की अध्यक्ष तिर्थ माया गुरुङले संयुक्त रुपमा गरेका थिए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछ । कुल १५ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज १४ गतेका दिन हुनेछ ।

 

Post Comments