News जी ट्वान्टी फाईभ कपः बुटवल ६ र बुटवल ३ को जित
सुरज राना मगर

बुटवल । रुपन्देहीको बुटवलमा शुरु जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिन बेलुका नै थप दुई खेलहरु सम्पन्न भएका छन् ।

बुटवल–११, देवीनगर स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा बुटवल ६ ले बुटवल १९ लाई २–१ ले पराजित गर्यो । खेलमा बुटवल ६ का सुमित कार्की म्यान अफ दि म्याच चुनिए । यो जितसँगै बुटवल ६ क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा बुटवल ३ ले बुटवल १७ लाई हराउँदै क्वाटरफाइनल स्थान तय गर्यो । त्यसअघि निर्धारित खेलमा बुटवल १७ ले बुटवल ३ लाई पेनाल्टीमा हराए तापनि खेल सम्पन्न भए पश्चात बुटवल ३ ले प्रोटेस्ट हालेको थियो । त्यही प्रोटेस्ट बुटवल ३ को पक्षमा गएपछि टोलीलाई विजयी घोषित गरिएको खेल संयोजक रमेश कुमार जोशीले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत असोज ८ गते बुधबार कुल पाँच खेलहरु हुनेछन् । जसमा एक प्रिक्वाटरफाइनल खेल र बाँकी चार क्वाटरफाइनल खेलहरु हुने समेत आयोजकले जनाएको छ ।

जी ट्वान्टी फाईभ क्लब, बुटवल–११, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए । फाइनल खेल भने असोज १० गतेका दिन हुनेछ ।

Post Comments