News जी ट्वान्टी फाईभ कपः बुटवल ३ र बुटवल ४ सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । दावेदार मध्ये एकका रुपमा उभिएका दुई छिमेकी टोली बुटवल ३ र बुटवल ४ यहाँ जारी जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम दुई टोली बनेका छन् ।

बुधबार अपरान्हतिर भएका अन्तिम दुई क्वाटरफाइनलतर्फ तेस्रो क्वाटरफाइनमा बुटवल ३ ले बुटवल १५ लाई ३–० को अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो । बुटवल ३ का लागि सुशिल श्रेष्ठ, सुदिप श्रेष्ठ र अमृत आचार्यले गोल गरे । खेलको म्यान अफ दि म्याच भने रन बहादुर गुरुङ घोषित भए ।

त्यस्तै चौथो क्वाटरफाइनलमा बुटवल ४ ले बुटवल २ को चुनौति ३–१ ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भयो । बुटवल ४ का लागि दिनेश बजियमले दुई गोल गर्दा थप एक गोल रमेश मल्लले गरे । उता पराजित बुटवल २ का लागि भने बिष्णु बहादुर थापाले एक मात्र गोल गरेका थिए । खेलमा बुटवल ४ कै प्रेम बहादुर सुनार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत असोज ९ गते बिहीबार बिहान ७ बजेदेखि दुवै सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनलमा बुटवल ३ र बुटवल ११ भिड्ने छन् । त्यस्तै दोस्रो सेमिफाइनलमा बुटवल ४ र ६ भिड्ने छन् ।

जी ट्वान्टी फाईभ क्लब, बुटवल–११, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपानेले बताए । फाइनल खेल भने असोज १० गतेका दिन हुनेछ ।

Post Comments