News फिफा यु–२० विश्वकपको २४औं संस्करण शुरु, एसियाली राष्ट्र जापानले जित्दा, दक्षिण कोरिया पराजित
गोलनेपाल

काठमाडौं (एजेन्सी) । दक्षिण अमेरिकी राष्ट्र चिलीमा शुरु विश्व युथ फुटबलको महाभिडन्त फिफा यु–२० विश्वकप फुटबल प्रतियोगितातर्फ एसियाका दुई राष्ट्र जापानले जित हात पार्दा अर्को टोली दक्षिण कोरियाले हार बेहोरेको छ ।

समूह ए मा रहेको जापानले उद्घाटन खेलमा अफ्रिकी प्रतिद्वन्द्वी इजिप्टलाई २–० को अन्तरले हराउँदै विजयी शुरुवात गर्यो । समूह ए कै अर्को खेलमा आयोजक चिलीले न्युजिल्याण्डलाई २–१ ले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गर्यो ।

त्यस्तै समूह बी तर्फ पहिलो खेलमा दक्षिण कोरियाले युक्रेनसँग १–२ को हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको छ । समूह बी कै अर्को खेलमा पाराग्वेले पानामालाई ३–२ को रोमाञ्चक अन्तरले हरायो ।

प्रतियोगितामा सहभागि कुल २४ टोलीहरुलाई ६ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने चार टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल १९ अक्टुबरका दिन चिलीको राजधानी सान्टियागोमा हुनेछ ।

डिफेन्डिङ च्याम्पियन हुनुका बावजुद उरुग्वे भने यसपटक प्रतियोगितामा छनौट हुन सकेन । भेनेजुएलामा गत जनवरी–फेब्रुअरीमा सम्पन्न साउथ अमेरिकन यु–२० च्याम्पियनसिपतर्फ ब्राजील (पहिलो), अर्जेन्टिना (दोस्रो), कोलम्बिया (तेस्रो) र पाराग्वे (चौथो) पछि पाँचौं स्थानमा रहेको उरुग्वे यु–२० विश्वकपका लागि छनौट हुन असफल भएको हो ।

Post Comments