News हङकङसँग बराबरी खेलेको बंगलादेश पनि बाहिरियो
गोलनेपाल

काठमाडौं (एजेन्सी) । एएफसी एसियन कप छनौटतर्फ समूह सी मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र बंगलादेश पनि समूह चरणबाटै बाहिरिन बाध्य बनेको छ ।

मंगलबार जित्नैपर्ने दबाबका साथ महत्वपूर्ण मानिएको खेलमा हङकङसँग उसकै घरेलु मैदानमा १–१ को बराबरी खेलेपछि बंगलादेशको पनि एसियन कप खेल्ने चुनौति समाप्त बनेको हो ।

समूह सी मा ४ खेलबाट २ अंक मात्र जोडेको बंगलादेश पुछारमा छ । एक खेल कम खेल्दै २ अंक नै जोडेको भारत तेस्रो स्थानमा छ । र भारतले मंगलबार राती नै सिंगापुरसँग खेल्दैछ । सिंगापुरको ५ अंक छ र समूहको दोस्रो स्थानमा छ भने ८ अंकसहित हङकङ शिर्ष स्थानमा छ ।

माल्दिभ्स पनि बाहिरियो

त्यस्तै समूह ए मा रहेको अर्को दक्षिण एसियाली राष्ट्र माल्दिभ्स पनि समूह चरणबाटै बाहिरिएको छ । मंगलबार चौथो हार बेहोर्ने क्रममा माल्दिभ्सले ताजिकिस्तानलाई ३–० ले नतिजा सुम्पियो । सोही समूहको अर्को खेलमा फिलिपिन्सले टिमोर लिस्टेलाई ३–१ ले हरायो ।

यो नतिजापछि ४ खेलहरुबाट १०–१० अंक जोडेका फिलिपिन्स र ताजिकिस्तान समूह ए को पहिलो र दोस्रो स्थानमा छन् । ३ अंक जोडेको टिमोर लिस्टे तेस्रो स्थानमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ । समूह ए बाट माल्दिभ्ससँगै टिमोर लिस्टे पनि बाहिरिएको छ ।

 

Post Comments