काठमाडौं (एजेन्सी) । दुई एसियाली राष्ट्र कतार र साउदी अरेबिया पनि अर्को वर्ष हुने प्रतिष्ठित फिफा विश्वकपका लागि छनौट भएका छन् ।
एसियाली छनौटको चौथो चरणतर्फको प्ले अफबाट समूह ए मा रहेको कतार र समूह बी मा रहेको साउदी विश्वकपका लागि छनौट भएका हुन् ।
समूह ए तर्फ निर्णायक खेलमा कतारले युएईमाथि २–१ को जित निकाल्यो । यो नतिजापछि २ खेलबाट ४ अंक जोडेको कतार समूहको शिर्ष स्थानमा रहेर विश्वकपको टिकट काट्न सफल भयो । पराजित युएई ३ अंकका साथ दोस्रो स्थानमा छ । र, युएईले अब पाँचौं चरणको प्ले अफ खेल्नेछ । १ अंक जोडेको ओमान भने पुछारमा रहेर समूह चरणबाटै बाहिरियो ।
त्यस्तै समूह बी तर्फको अन्तिम खेलमा साउदीले इराकसँग गोलरहित बराबरी खेल्यो र भाग्यमानी साबित भयो । दुई खेलबाट समान ४–४ अंक जोडेका साउदी र इराक क्रमशः गोल भिन्नताले पहिलो र दोस्रो स्थानमा रहे । जसको अर्थ गोल भिन्नताले साउदी अगाडी रहँदै विश्वकपका लागि छनौट भयो ।
इराकले अब पाँचौं चरणको प्ले अफ खेल्नेछ । त्यस्तै सोही समूहमा रहेको इण्डोनेसियाको विश्वकप खेल्ने सपना भने समाप्त भएको छ ।
स्मरण रहोस, एसियाबाट योसँगै कुल आठ टोलीहरु हालसम्म विश्वकपका लागि छनौट भएका छन् । जसमा जापान, दक्षिण कोरिया, इरान, उज्वेकिस्तान, जोर्डन र अष्ट्रेलिया यसअघि नै विश्वकपका लागि छनोट भईसकेका छन् ।