News एपिएफको शतप्रतिशत जितको यात्रा जारी
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिगको दावेदार सशस्त्र प्रहरीको एपिएफ क्लबले आफ्नो शतप्रतिशत जितको यात्रालाई शनिबार पनि निरन्तरता दिएको छ ।

शनिबार एन्फा कम्प्लेक्समा भएको ेखेलमा स्टार फरवार्ड साबित्रा भण्डारीले २ गोल गरेको खेलमा एपिएफले वालिङ नगरपालिका, स्याङ्जा माथि ३–० को जित निकाल्यो ।

खेलको १३औं मिनटमा साबित्राले पहिलो गोल गर्दै एपिएफलाई खेलमा अग्रता दिलाएकी थिईन् । थप दुई गोल भने दोस्रो हाफमा सम्भव भयो । ७१औं मिनटमा प्रिति राईले एपिएफका लागि दोस्रो गोल गरिन् भने त्यसको चार मिनट लगतै भण्डारीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एपिएफको जित सुनिश्चित गरिन् ।

यो जितसँगै जारी लिगमा शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिएको एपिएफ ५ खेलबाट १५ अंकका साथ शिर्ष स्थानमा यथावत छ । उता पराजित वालिङ भने पाँच अंकका साथ पाँचौं स्थानमा छ ।

बिराटनगरलाई पनि सफलता

शनिबार नै भएको अर्को खेलमा बिराटनगर महानगरपालिका, मोरङले चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि ६–० को प्रभावशाली जित निकाल्यो । जारी लिगमा बिराटनगरको यो दोस्रो जित समेत हो ।

यो जितसँगै बिराटनगर ४ खेलबाट ७ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा उक्लिउको छ । त्यस्तै पराजित चौदण्डीगढी भने अंकविहीन रुपमा लिगतालिकाको पुछारमा रहेको छ ।

Post Comments