News फाइनलमा आयोजक ज्योतिपुञ्ज, उपाधिका लागि युनाइटेडसँग भिड्ने
गोलनेपाल

रामपुर । रोमाञ्चक जित हात पार्दै आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर, पाल्पा यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो सेमिफाइनलमा आयोजक ज्योतिपुञ्जले देवदह ब्वाईज, देवदह, रुपन्देहीलाई ३–२ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

ज्योतिपुञ्जको जितमा निरज चौधरीले दुई गोल गर्दा थप एक गोल सुमित श्रेष्ठको नाममा रह्यो । उता पराजित देवदहका लागि भने दुवै गोल सुरज चौधरीले गरेका थिए ।

खेलको म्यान अफ दि म्याच ज्योतिपुञ्जका लागि दुई गोल गरेका निरज चौधरी चुनिए । त्यस्तै रेडबुल प्लेयर अफ दि म्याचको पुरस्कार भने सुमित श्रेष्ठले हात पारे ।

अब यही कार्तिक ३ गते सोमबार हुने फाइनलमा आयोजक ज्योतिपुञ्ज युवा क्लबले साविक विजेता युनाइटेड युथ क्लब, नवलपुरसँग उपाधिका लागि भिड्नेछ ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

Post Comments