News भारत विरुद्ध नेपालको जितमा कप्तान साबित्रा बनिन नायक
गोलनेपाल

काठमाडौं । फिफा विन्डोतर्फ तीन देशीय सिरिज अन्तर्राष्ट्रय महिला फुटबल प्रतियोगिता खेल्न भारत पुगेको नेपालले आफ्नो अन्तिम तथा प्रतिष्ठाको भिडन्तमा घरेलु टोली भारतमाथि रोमाञ्चक जित हात पारेको छ ।

आफ्नो पहिलो खेलमा विजेता बनिसकेको इरानसँग ३–० ले पराजित हुन पुगेको नेपालले सोमबार भारतलाई २–१ ले पराजित गर्यो । शिलोङमा सम्पन्न खेलमा नेपालका लागि कप्तान समेत रहेकी साबित्रा भण्डारी नायक बनिन् ।

खेल शुरु भएको दोस्रो मिनट मै साबित्राले बक्स नजिकैबाट सुन्दर गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिईन् । ६३औं मिनटमा साबित्राले नै सुन्दर फ्रिकिक गोल गर्दै नेपालको जितमा निर्णायक बनिन् । उता अन्तिमतिर ८१औं मिनटमा भारतका लागि करिश्मा शिरवोइकरले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।

स्मरण रहोस, सिरिज अन्तर्गत भारतले आफ्नो पहिलो खेलमा इरानसँगै २–० को पराजय बेहोरेको थियो ।

Post Comments