हेटौँडा । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा “एन्फा प्रेसिडेन्ट लिग २०२५” हेटौँडामा हुने भएको छ। प्रतियोगिता यही कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ स्थित गौरीटार रंगशालामा सञ्चालन हुनेछ।
हेटौँडामा सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगिता एन्फाको फुटबल विकास कार्यक्रम अन्तर्गत आयोजना गर्न लागिएको हो।
यस लिगमा देशभरका १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। ती टोलीहरू हुन् — गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृती युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), काक्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृती क्लब (बारा), विजय स्पोर्ट्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहुँ), टाइगर्स टिम टिकाताथल (दोलखा) र लालीगुराँस एसोसिएसन क्लब (कास्की)।
एन्फाका प्रवक्ता शाहका अनुसार यी सबै टोली एन्फामा आवद्ध जिल्ला तथा प्रदेश लिगका च्याम्पियन हुन्। प्रतियोगिता दुई समूहमा विभाजन गरी लिग कम नकआउट प्रणालीमा खेलाइने छ। प्रत्येक समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलमा पुग्ने चार टोलीले यसै वर्ष हुने राष्ट्रिय लिगमा पनि सहभागिता जनाउने अवसर पाउनेछन्।
हेटौँडा नगर क्षेत्रका दुई खेलमैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको बताइएको छ। स्थानीय आयोजकको रूपमा मकवानपुर जिल्ला फुटबल संघले व्यवस्थापन गर्नेछ।
एन्फाका अनुसार प्रतियोगिताको सम्पूर्ण खेल एन्फाका आधिकारिक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरिनेछ। विजेता टोलीले रु. १० लाख, उपविजेताले रु. ५ लाख पाउनेछन्। साथै प्रत्येक सहभागी टोलीलाई तयारी खर्चका रूपमा रु. ७ लाख प्रदान गरिनेछ।
प्रवक्ता शाहका अनुसार प्रतियोगिताको कुल बजेट रु. १ करोड ५४ लाख ५४ हजार ४२५ निर्धारण गरिएको छ।
