राजाबास । राजाबास भेट्रान फुटबल क्लब, बराहक्षेत्र–९, राजाबास, सुनसरीको आयोजनामा सम्पन्न प्रथम राजाबास भेट्रान कप नकआउट फुटबल पतियोगिताको उपाधि भानु भेट्रान्स क्लब, धरान, सुनसरीले जितेको छ ।
फाइनलमा भानुले सतिसाले भेट्रान्स, मोरङलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । भानु भेट्रान्सका लागि अंकुर खड्गीले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।
विजेता बनेको भानु भेट्रान्सले उपाधिसहित नगद ३५ हजार हात पार्दा उपविजेता सतिसाले भेट्रान्सले २५ हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो । निर्णायक गोल गरेका भानु भेट्रान्सका अंकुर खड्गी फाइनल खेलको म्यान अफ दि म्याच चुनिए । उनले त्यसवापत नगद ११०० र ट्रफी हात पारे ।
त्यस्तै अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक भानु भेट्रान्सका जनराज सुनुवार बन्दा उत्कृष्ट डिफेन्डर भानु भेट्रान्स कै हेम गुरुङ चुनिए । त्यसैगरी उत्कृष्ट मिडफिल्डर सतिसालेका रोगेन राई चुनिदा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि सतिसाले कै गणेश लिम्बुले हात पारे ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने भानु भेट्रान्सका बुद्ध चेम्जोङ घोषित भए । उत्कृष्ट बनेका सबैले जनही २१००–२१०० र ट्रफी हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी बराहक्षेत्र नगरपालिका वार्ड नम्बर ९ का अध्यक्ष निरन्जन मण्डल लगायतले पुरस्कृत गरेका थिए ।