News खेलिरहेका सक्रिय खेलाडीहरुलाई आन्दोलनमा उत्रिन नैतिकताले पनि दिंदैनः किरण चेम्जोङ
गोलनेपाल

काठमाडौं । प्रतिष्ठित शहिद स्मारक ए डिभिजन लिग हुनुपर्ने लगायतका मागसहित एन्फा विरुद्ध खेलाडीहरुको आन्दोलन जारी रहँदा राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान किरण चेम्जोङले पनि यसबारे आफ्नो धारणा राखेका छन् ।

किरणका अनुसार राष्ट्रिय टोलीमा रहेर खेलिरहेका वा अन्य सक्रिय खेलाडीहरुले “लिग हुनुपर्छ” भन्दै आफै आन्दोलनमा उत्रिन नैतिकताले पनि नदिने बताएका छन् । किरण भन्छन, “हामी राष्ट्रका नायक भएकाले हाम्रो आन्दोलन गर्ने र समर्थन गर्ने आफ्नै ठाउँ हुन्छ ।”

साथै उनले यो आन्दोलनमा नेपाल फुटबल खेलाडी संघले नेतृत्व लिएर अगाडी बढ्नुपर्ने बताएका छन् । किरणका अनुसार खेलाडीहरुको समस्या, वर्तमान परिस्थतिलाई बुझेर खेलाडी संघले आवश्यक कदम चाल्नु सही हुने बताए ।

साथै खेलाडी संघले गरेको आन्दोलन र राखेका मागहरु जायज रहेको समेत उनले स्पष्ट पारे । उनले यी सबै कुरा र समस्याहरु प्रक्रियागत रुपमा सही ढंगले समाधान गर्नुपर्ने समेत बताए ।

स्मरण रहोस, एन्फाले यस वर्ष पनि ए डिभिजन लिगन आयोजना गर्न नसक्ने बताएपछि अहिले त्यसको चर्को विरोध भईरहेको छ । फुटबल खेलाडीहरुको छाता संगठन नेपाल फुटबल खेलाडी संघले आन्दोलन र विरोध पनि गरिरहेको छ । त्यसक्रममा एन्फा र खेलाडी संघबीच कार्तिक २४ गते बैठक बस्ने भनिए तापनि त्यो बैठक अन्तिम समयमा आएर हुन सकेन ।

उता राष्ट्रिय पुरुष फुटबल टोली भने दुई अन्तर्राष्ट्रिय म्याचका लागि विदेश जाँदैछ । नेपालले यही नोभेम्बर १३ तारीखका दिन बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्दैछ । त्यस्तै नोभेम्बर १८ तारीखका दिन मलेसियासँग एएफसी एसियन कप छनौटतर्फको खेल खेल्ने कार्यक्रम रहेको छ ।

 

Post Comments