सुपौली । समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा मंगलबारदेखि स्व. लाल बहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
तिलोत्तमा–१४, सुपौली स्थित आयोजक कै समपुर्ण खेलमैदानमा भएको उद्घाटन खेलमा झरना स्पोर्टस क्लब, कुञ्जलापुरले नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपललाई ४–० ले हराउँदै उत्कृष्ट शुरुवात गर्यो ।
झरनाको जितमा प्रतियोगिता कै पहिलो ह्याट्रिक गर्ने क्रममा मनिष थारुले तीन गोल गरे भने थप एक गोल रोहित सुनारले गरे । खेलमा ह्याट्रिक गरेका झरनाका मनिष थारु नै खेलको म्यान अफ दि म्याच चुनिए ।
यो जितसँगै झरना क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कार्तिक २६ गते बुधबारको खेल सुनवल फुटबल क्लब, नवलपरासी र फर्साटिकर युवा क्लब, फर्साटिकर बीच हुने प्रचार प्रसार संयोजक रवि अर्यालले जानकारी दिए ।
त्यसअघि प्रतियोगिताको उद्घाटन मुख्य प्रायोजक समेत रहेकी वरिष्ठ समाजसेवी हिरा कुमारी पुन, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँड, आयोजक क्लबकी उपाध्यक्ष नारायण बोहरा क्षेत्री (पुन), रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले संयुक्त रुपमा गरेका थिए ।
आउँदो मंसिर ६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष विजय थापाले जानकारी दिए ।