सुपौली । झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीमा जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
शनिबार भएको पहिलो क्वाटरफाइनलमा झरनाले दश खेलाडीमा खुम्चिएको अभिषेक चर्च एफसी, रजहर, नवलपुरलाई ३–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
झरनाको जितमा बिक्की चाम्लिङ राईले ह्याट्रिक गर्दै टोलीको जितमा नायक बने । उता अभिषेक चर्चका लागि भने यामी फाकुन्लेले पेनाल्टी मार्फत एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै खेलको दोस्रो हाफतर्फ अभिषेक चर्चका राजकुमार कालेले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा टोली अन्तिम समयतिर दश खेलाडीमा सिमित बनेको थियो ।
खेलमा ह्याट्रिक गरेका झरना स्पोर्टसका बिक्की चाम्लिङ राई खेलको म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत कार्तिक ३० गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल सुनवल एफसी, सुनवल र चाँदनी युवा क्लब, दानापुरबीच हुनेछ ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।