News गोर्खा ब्वाईजको अध्यक्षमा गुरुङ सर्वसम्मत
सुरज राना मगर

बुटवल । राष्ट्रियस्तरका एक पछि अर्को खेलाडीलाई काखी च्यापेर वर्तमान फुटबलमा पनि सक्रिय रहेको गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल रुपन्देहीको अध्यक्षमा बुद्धि बहादुर गुरुङ चयन भएका छन् । माघ १९ गते सोमबार सम्पन्न क्लबको साधारण सभा तथा आठौं अधिवेशनबाट गुरुङ सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।

अधिवेशनले गुरुङ कै अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसको उपाध्यक्षमा दिपिका शाही ठकुरी, दयाराम सापकोटा र हरि पन्थ रहेका छन् भने महासचिवमा शंकर मल्लाह चयन भएका छन् । सचिवमा सुशिल कुमार चौधरी, कोषाध्यक्षमा बिर बहादुर दर्लामी तथा सह–कोषाध्यक्षमा सुनिल राना चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा रोशन कुमार श्रेष्ठ, एकु थापा, नारायण श्रेष्ठ, रिन्जी राना, अशोक कुमार थापा, राकेश गुरुङ, बिकास गुरुङ, हिमाल काला थापा र प्रकाश श्रेष्ठ रहेका छन् ।

यसअघि अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश फुटबल संघका अध्यक्ष भुपेन्द्र बिक्रम थापा (पुकार) ले गरेका थिए । सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष दिर्घ बहादुर केसी (कुमार), बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा, लन टेनिस संघ, रुपन्देहीका सचिव गोपाल ज्ञवाली, लुम्बिनी प्रदेश फुटबल संघका महासचिव लोक पुन, फुटबल प्रशिक्षकहरु सल्यान खड्गी, पुकार गहतराज र दिलिप क्षेत्री लगायत अन्य अतिथीहरुको पनि उपस्थिति रहेको थियो ।

सबैसँग मिलेर अघि बढ्ने नयाँ अध्यक्ष गुरुङको योजना

रुपन्देहीको फुटबलमा छुटाउन नहुने एक क्लबको नाम बनेको छ गोर्खा ब्वाईज । बसन्त थापा, मधु कार्की, दिलिप क्षेत्री, प्रदिप आचार्य, हिमाल थापा, मनोज शाही, प्रबल मल्ल, ओम काउचा जस्ता चर्चित र प्रतिभावान खेलाडीहरुका लागि कुनै बेला राम्रो प्लेटफर्म बनेको थियो, गोर्खा ब्वाईज ।

स्थानीय देखि जिल्ला हुँदै राष्ट्रियस्तरमा आफ्नो गर्विलो इतिहास र पहिचान बनाएर सफलता पनि हासिल गरेको गोर्खा ब्वाईज अहिले पनि फुटबलमा त्यति नै सक्रिय छ । अध्यक्षमा चयन भएपछि क्लबका नयाँ अध्यक्ष बुद्धि गुरुङले क्लबसँग जिल्लाभित्रको फुटबल गतिविधीहरुलाई राम्रोसँग नियालेर सबैसँग सहकार्य गरि अघि बढ्ने बताए ।

Post Comments