
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगितातर्फ जित हात पार्दै योङ स्टार एफसी क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ योङ स्टारले द राईजिङ क्लबलाई २–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा भएको खेलको २४औं मिनटमा प्रकाश बुढाथोकीको गोलबाट योङ स्टारले खेलमा अग्रता लिएको थियो ।
त्यस्तै दोस्रो गोल भने दोस्रो हाफको अन्तिमतिर इन्जुरी समयमा बिपिन भण्डारीले गरे । जुन गोलसँगै योङ स्टारको जित पनि पक्का बनेको थियो । खेलको म्यान अफ द म्याच योङ स्टारका प्रकाश बुढाथोकी घोषित भए ।
प्रतियोगिता अन्तरगत माघ २० गते मंगलबारको खेल खुकुरी फुटबल क्लब र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन १ गतेका दिन हुनेछ ।